" The Girl in the Rain "

                         ** डे-वान **

आकाश रुइरहके छ, अनि धर्ती चाहिँ रुझिरहेको छ ।
मलाई आकाश र धर्ती, आँखा र परेली जस्तै लाग्छन् ।
एउटा रुने अर्को रुझ्ने !

मेरो सन्मुख सपाट सडक ओछ्छिएको छ ।
त्यो सपाट सडक माथी मेरो नजर ओछ्छिएको छ ।
त्यहीँ ओछ्छिएको नजर माथी मेरा पाइलाहरु एकले अर्काको पिछा गर्दै हिड्दैछन् ।

पाइलाहरु घर जाने बाटो नाप्दैछन् । नजर भने रुझेको वातावरणलाई जोख्दै छ । मलाई ओडाइरहेको छाताले चाहिँ वर्षिरहेको पानीलाई तौलिदै छ । म आफुलाई एकदम हलुका महसुस गर्दैछु ।

मलाई लाग्छ- मान्छे एक प्रकारको तराजु नै हो, जसले जोख्ने, तौलिने, नाप्ने, तुलना गर्ने काम गर्छ । यो मान्छेको बानी भन्दा पनि स्वभाव हो ।
अरुलाई तौलिने तराजुको चाहिँ तौल कति हुनुपर्छ, या कति हुन्छ ?
हामी मान्छेको वास्तविक तौल कति हुन्छ ?

मलाई मेक्सिकन निर्देशक 'अलेजान्द्रो गोन्जालेज इनारितुले' 2003 मा बनाएको फिल्म '21 Grams' को याद आउँछ ।
जुन फिल्म 'डाक्टर म्याकडोउगलको' कथनमा आधारित छ ।
जसको अनुसार मान्छेको तौल मृत्यु पश्चात् 21 ग्रामले कम हुन्छ।
21 ग्राम ?
21 ग्राम वास्तवमा के'को तौल हो ? आत्मा ? या अरु केही ?
"इट इज स्टिल अनसल्भ्ड एन्ड अनएक्सप्लेन्ड !"

नजर ठ्याक्क अल्झिन्छ- सडकको बायाँ छेउमा रहेको रुखको ओतमा उभिरहेकी केटि माथि । पाइला टक्क अड्किन्छ ।
अप्सराहरु स्वर्गमा मात्रै होइनन् धर्तीमा पनि हुन्छन्, कम्तिमा अब म भन्न सक्छु । झरि अनि परि ! उसलाई हेर्दै बिस्तारै हिड्छु, फर्कि फर्कि हेर्छु ।
मलाई ती पानीको दानाहरु बन्न मन लाग्छ, जो उसको झर्ना जस्तै कपालबाट बग्दै उसलाई रुझाइरहेको छ, उसलाई छामिरहेको छ ।
आफ्नो छातामा उसलाई लिफ्ट दिउ ?
उ अरु नै कसैलाई कुर्दै पनि त हुन सक्छ !

मेरो लागि यस्ता परिहरु भाग्यमा होइनन् , सपनामा मात्रै आँउछन् । सायद अब यादमा पनि आँउछन् होला । यस्तै सोच्दै सोच्दै आफ्नो नजरबाट ओझेल बनाइदिन्छु उसलाई ।

                            ** डे-टु **

हिजोको जस्तै आज पनि आकाशले मुतेको मुत्यै छ ।
छाता पानीबाट मलाई जोगाउन ब्यस्त छ , आफू रुझ्न चाहिँ मस्त छ ।
म त्यहीँ सडक हुँदै घरतिर चिप्लिदै छु । एक हुल विद्यार्थी केटाकेटी बेफिक्री साथ रम्दै, रुझ्दै हिँड्दैछन् ।
कुनै समय म पनि यसरी'नै स्कुलबाट भिज्दै घर जानेगर्थे ।
ओठको एउटा कुनाबाट मुस्कान चुहिन्छ र सडकमा बग्दै गरेको पानी संगै मिसिन्छ ।

म हिड्दै गर्दा देख्छु- नजिकैको टहरे चिया पसलमा बुढाहरु चियाको चुस्की लिदै, सिसाले बारेको क्याफे भित्र प्रेमीहरु चुम्मा लिदै ,दिदै । न्यानो बनाउने, बन्ने आ-आफ्नै तरिका !

आज पनि त्यो रुख मुनि त्यहीँ रुप देख्छु । रुझेको, भिजेको !
बर्खामा पनि किन छाता नबोकेकी होलिन् ? अचम्म लाग्छ !
सायद उसलाई रुझ्न मन पर्छ, त्यसैले होकि !
मनले त भन्छ उसको नजिक जाउ, कुरा गरुँ । तर .....

कुनै अपरिचित ब्यक्ति संग बोल्न कि बाहाना चाहिन्छ , कि चाहाना चाहिन्छ, कि आफू भित्र उ प्रतिको भावाना चाहिन्छ, कि तेस्तै जमाना चाहिन्छ !
म संग चाहिँ के छ ?
यस्तो अन्जान अप्सरासंग बोल्न कन्फिडेन्ट पनि त चाहियो ।
एउटा हिन्दी डाइलग सम्झिन पुग्छु - " कन्फिडेम्स बहुत कुत्ती चिज हेँ, निसाने पेँ लगा तो कमाल बर्ना बबाल !"

उसलाई पछि छोड्दै अघि बढ्छु ।

                             ** डे-थ्री **

मलाई मेरो जिन्दगी चिनी नहालेको चिया जस्तै लाग्छ- खल्लो !
घरबाट काम अनि कामबाट घर !
परिवर्तन भएको छ त समय मात्रै ! नत्र, एउटै चिज रोटेसन भैरहेको छ मेरो जिन्दगीमा ।
वाक्क लाग्दो ! दिक्क लाग्दो ! झ्याउ लाग्दो ! बिरक्त लाग्दो !

सधैंको जस्तै कामबाट लखतरान भएको शरीर लुरुलुरु फर्काउदैछु घरतिर ।
मौसम आफ्नै नियममा चलिरहेको छ । बर्खामा बर्सातको साथ ! तर हिजो भन्दा आजको बर्सातको वजन कम छ । सिमसिमे पानी !
जे होस् छाताले चाहिँ आफ्नो धर्म निभाइरहेको छ ।

अचम्म !
त्यहीँ केटि जसलाई मैले हिजो देखेको थिए, अस्ति पनि देखेको थिए, आज अहिले पनि देख्दैछु, त्यहीँ रुखमा ओतमा, तेस्तै अबस्थामा ।
रुझेको ! भिजेको !

त्यो केटि सधैं यहि बेला त्यहाँ किन हुन्छ ?

म भित्र प्रश्नहरु तन्किदै, चुडिदै जान्छन् । जोडिदै, टुक्रिदै जान्छन् । बन्दै, भत्किदै जान्छन् ।

मस्तिष्कलाई अरु धेरै भार दिन मन लाग्दैन । बन्दुकको गोलि जस्तै हानिन्छु उ तिर सिधै उसलाई टार्गेट बनाएर ।

"सुन्नुस त !" म उसलाई पछाडिबाट बोलाउछु ।

"हजुर ?" उनि म तिर फर्किन्छिन् ।

"तपाईंलाई यहीँ अबस्थामा बिगत दुई, तीन दिनदेखि यहाँ देखिरहेको छु.... " म अड्किन्छु ।

"म कसैको प्रतीक्षा गर्दैछु !" उनी भावरहित अनुहार लगाउदै भन्छिन् ।

" लाउनुस छाता ! यसरी धेरै रुझ्नु हुँदैन !" छाता उसलाई थमाइदिएर म आफ्नो बाटो लाग्छु ।

म फर्केर उसलाई हेर्छु । उनी मलाई हेर्दै मुस्कुराइरहेकी हुन्छिन्। मलाई झरीले भन्दा उसको मुस्कानले निथ्रुकै बनाइदिन्छ ।

                             ** डे-फोर **

कामबाट छुट्टी'नै नभई निस्किन्छु हतार हतार ।
आज पानी परिरहेको छैन, तर लाग्छ पर्ने सुरसार हुँदैछ ।
साथमा छाता पनि छैन, तर नाता गाँस्ने मौका त छ, बाहाना त छ ।

टाढै बाट देख्छु- रुखको खाली काख, जहाँ त्यो केटि हुनेगर्थी ।
रुझेको, भिजेको !
घडी हेर्छु । चार बज्न अझै दस मिनेट बाँकी छ ।
आकाशले मुत्न थाल्छ । म त्यहीँ रुखमा ओत लाग्न जान्छु ।
सायद म आज चाडैं भए कि ? त्यो केटि आउने बेलै भएको छैन कि ?
म रुझ्दै केही समय उसलाई त्यहीँ कुर्छु ।

आफू भित्र सागर भन्दा गहिरो प्रश्नहरु जन्माउछु, हिमाल भन्दा अग्लो कौतहल्ता उमार्छु । उसले दिएको मुस्कान कल्पिन्छु । मुस्कुराउछु ।

धेरै बेर कुर्दा पनि उनी नआएपछि म निराशाको छाता ओडेर लाग्छु घरतिर ।

                               ** डे-फाइभ **

म उ प्रती आकर्षित भएको छु, तानिएको छु, लोभिएको छु, खिचिएको छु । किन, कसरी त्यो चाहिँ थाहा छैन !
हामि एकअर्कालाई चिन्दैनौ, तर पनि किन किन हामी बिच अदृश्य सम्बन्ध छ झैं लाग्छ मलाई ।
सायद पुर्व- जन्ममा हामी एकाअर्काको प्रेमी पो थियौ कि ?

पानी सिमसिम परिरहेको छ । मन रिमझिम भैरहेको छ ।
आशाको छाता ओडेर पुग्छु- त्यहीँ रुखको काखमा ।
रुखको काख खाली देख्छु । मेरो मन पनि खाली खाली हुन्छ ।
आज पनि उसले मलाई घोका दिइन् ।
सिमसिमे पानी, तिमी साच्चै रै'छौ बैमानी !

घडी हेर्छु । चार बजेर पन्ध्र मिनेट !
किन आइनन् उनी ?
कम्तिमा छाता फर्काउन भए पनि त आउनुपर्ने !
काम परेको पनि त हुनसक्छ उसको !

मस्तिष्कमा तर्कहरु खेलाउदै फर्किन्छु घर तिर ।
कतै यो सब भ्रम त होइन ? मैले देखेको केटि वास्तवमा नहुन पनि त सक्छ ! म आफ्नै कल्पनामा उड्दै पो छु कि ?

                           ** डे-सिक्स **

कसैको प्रतीक्षा गर्नु र अपेक्षा गर्नु, दुबै मलाई बेकार लाग्छ ।
तर पनि मनले कहाँ मान्छ र !
घडिले साढे चार बजाएको छ । म रुझेको छु, भिजेको छु । मलाई आफ्नो अबस्थाको ज्ञान छैन ।
म त्यहीँ रुखको मुनि उभिएको छु- उसको प्रतीक्षामा, उसको अपेक्षामा ।

उ संगको छोटो वार्तालाप सम्झिन्छु । म उ संगै भएको कल्पन्छु। मुस्कुराउछु ! दङ्ग पर्छु !

कसैले पछाडिबाट बोलाउछ, " सुन्नुस त !"

कतै उनी त आइनन् ?

म पछाडि फर्किन्छु, " हजुर ?"

एउटा केटि छाता ओडेर मेरो सामुन्ने उभिएकी छिन् । मैले प्रतीक्षा गरेको केटि उनी होइनन् । अपेक्षा गरेको केटि उनी होइनन् । मेरो लागि उनी बिल्कुलै अपरिचित छिन् !
म खिन्न हुन्छु । मन खिन्न हुन्छ ।

"तपाईंलाई यहीँ अबस्थामा बिगत दुई, तिनदेखि यहीँ देखिरहेकी छु.... " उनी अड्किन्छिन् ।

"म कसैको प्रतीक्षा गर्दैछु !" भावरहित अनुहार लगाउछु ।

"लाउनुस छाता ! यसरी धेरै रुझ्नु हुँदैन !" छाता मलाई थमाइदिएर उनी आफ्नो बाटो लाग्छिन् ।

उनी मलाई फर्केर हेर्छिन् । म उसलाई मुस्कान दिन्छु ।

                              ***********

Comments

Popular Posts