[ A Black Crow ]
काँ....... काँ....... काँ.........
कालो कुरुप कागको कर्कश कराई !
सपना टुट्छ । निन्द्रा छुट्छ । म ब्युँझिन्छु ।
आँखा मिच्दै बरण्डामा एक नजर फ्याँक्छु । कालो काग बेसुरले गित गाईरहेको छ ।
ओछ्यानबाट आफुलाई छुटाउछु र बरण्डा निस्किन्छु । कागलाई धपाउछु । काग उडेर घर अघिको रुखमा बस्छ । म पुन ओछ्यानमै टासिंन जान्छु । काग पनि पुन बरण्डामै टासिंन आउँछ र पुन चिच्याउन थाल्छ, काँ...... काँ......... काँ........ !
उच्च डेसिबल भएको कागको कराईले मेरो कानको पर्दा फुट्ला'झैं हुन्छ । बाथरुम पस्छु । फ्रेस हुन्छ । ब्रेकफास्ट बनाउछु, खान्छु ।
काग एकोहोरो कराको कराई छ ।
प्लेटमा ब्रेडलाई टुक्राटुक्रा पारेर बरण्डामा राखिदिन्छु ।
काग प्लेटको छेउमा आउँछ । ब्रेडको टुक्रा हेर्छ तर खाँदैन । फेरि कराउन थाल्छ ।
आखिर किन बिहानैबाट कराउँदै छ यो काग ? के चाहिएको छ यसलाई ?
यसरी काग करायो भने पाहुना आउँछन् रे ! के आज पाहुना आउँदै छन् त मेरो घरमा ?
काग र कागको कर्कश कराईलाई वेवास्ता गर्दै पढ्दै गरेको थ्रीलर किताब "द वमेन इन द विन्डो" पल्टाउछु । केही पन्ना पढ्छु । कागको एकोहोरो कराईले ध्यान किताबमा जाँदैन ।
मोबाइल बज्छ । साथीले कफि पिउने निम्तो दिन्छ । किताबलाई ओछ्यानमै छोडेर म तयार हुन थाल्छु । ऎना सन्मुख आफुलाई उभ्याउछु । आफुलाई देखेर हाँस्छु । गाला चाउरी पर्न थालेछ । बुढो भैएछु ।
साँच्चै, सम्झना भन्दा पनि तेज रफ्तारमा कुद्दो रहेछ, समय । मोबाइल निकाल्छु । नोट प्याडमा लेख्छु-
"समयको काम बित्ने हो बितिरहन्छ,
जरुरी छैन हरेक पटक मलामी जान !"
घरबाट कफि अड्डातिर पाइला सोझाउछु । अचम्म ! त्यो कालो काग मेरो पछि-पछि कराउँदै आउँछ । म धपाउछु । काग कराउँदै मलाई पछ्याईरहन्छ । कागलाई वेवास्ता गर्दै आफ्नै सुरमा हिंड्छु । काग बेसुरमा कराउँदै मलाई पछ्याईरहन्छ ।
कफि अड्डा पुग्छु । साथीहरूको जमात हुन्छ । केही समय खर्च गर्छु । कतिले गफ छाट्छन् । कतिले दिमाग चाट्छन् । म हिसाबकिताब राख्दिन । भन्न खोजेको म गणितमा कम्जोर भनेको होइन नि फेरि ! एउटा र्यान्डम विचार आउँछ ।
मोबाइल निकाल्छु । नोट प्याडमा लेख्छु-
"मेरो प्रतिस्पर्धा म आफैं संग छ,
तर, दुनियाँ मलाई हराउन चहान्छ !"
साथीहरूबाट बिदा मागेर घर तर्फ लाग्छु । त्यहीँ कालो काग पुन देखा पर्छ । फेरि कराउँदै मलाई पछ्याउन थाल्छ, काँ....... काँ.........काँ..........!
कतै सुनेको थिए, कागले संदेश लिएर आउँछ रे अशुभ समाचारको ।
कतै यो कागले.........? शरीर चिसो भएर आउँछ । घरमा फोन घुमाउछु । सबै सदस्यहरु कुशलमङ्गलनै रहेको खबर पाउँछु ।
शरीर पुन तातिन थाल्छ ।
कालो कागलाई अशुभ मानिन्छ हाम्रो समाजमा । कालो कागले मृत्यु, अशुभ, अमङ्गल जनाउँछ रे । यस्ता अन्धबिस्वास ब्याप्त छन् हाम्रो समाजमा ! मैले कतै पढेको थिए हामी मान्छेहरु मात्रै होइनौं चराहरु पनि अन्धबिस्वासी हुन्छन् रे । भर्खरै जन्मिएका बचेराहरुलाई यदि हामी मान्छेले छोयो भने माउले आफ्ना बचेराहरुलाई छाडेर जान्छन् रे । हामी मान्छेले छोएको अशुभ / अमङ्गल हुन्छ रे !
घर पुग्छु । त्यहीँ कालो काग बरण्डामा बसेर फेरि कराउन थाल्छ । रिस उठेर आउँछ । यो कागले मेरो पिछा किन गर्दैछ ? किन यसरी कराईरहेको छ बिहानैबाट ? बरण्डामा गएर घपाउछु । एकैछिनमा फेरि आएर कराउन थाल्छ, काँ.... ..काँ....... !
हल्का लन्च लिन्छु । फेसबुक नियाल्छु । पुर्वप्रेमिकाको तस्बिर देख्छु । लभ रियाक्ट गर्छु । नोट प्याडमा लेख्छु-
"उनी आउँछु नभनी आईन् र जान्छु नभनी गईन्,
सायद मलाई बर्बाद पार्ने उद्देश्य थियो उनको !"
कानमा हेडफोन कोच्छु र पल्टिन्छु । मस्त निदाउछु । ब्युँझिदा दिन बूढो भै'सकेको हुन्छ । बरण्डामा एक नजर फ्याँक्छु । कालो काग देख्दिन । केही राहत महसुस हुन्छ ।
त्यहीँ कालो काग मेरो मस्तिष्कमा पुन कराउन थाल्छ ।
जनावर, चराहरुको मान्छेको भन्दा खत्रा सुँध्ने, सुन्ने, देख्ने क्षमता हुन्छन् । केही प्रलय हुनु भन्दा पहिले'नै यिनिहरुलाई त्यसको आभास हुन्छ । त्यो कालो कागले मलाई संदेश होइन केही संकेत पो दिदै थियो कि ? मलाई केही भन्न पो खोज्दै थियो कि ?
****
नयाँ बिहान । नयाँ दिन ।
बरण्डामा आज कालो काग छैन । त्यसको कर्कश कराई पनि सुनिएको छैन । शरीर हलुका महसुस भैरहेको छ ।
फ्रेस हुन्छु । ब्रेकफास्ट बनाउछु, खान्छु ।
आज अफिस जानू छ । अलि हतार गर्छु ।
दिन तातो छ । वायुमण्डल तातो छ । मेरो पाईलाले पनि अफिसको बाटो तताउन थाल्छ । पछाडीबाट टाउकोमा केहिले ठुङ्छ । म पछाडी फर्कन्छु । हिजो'कै कालो काग मलाई अर्को हमला गर्न खोज्दै रै'छ । हिजोको शान्त काग आज कसरी अशान्त भयो ? हिजो कराउँदै पछ्याएको कागले मलाई आज ठुङ्दै लखेट्न थाल्छ ।
कागको आँखामा म प्रष्टसंग देख्न सक्छु, रिस झुन्डिएको । म त्यसलाई धपाउने असफल प्रयास गरिरहन्छु ।
मलाई "अलफ्रेड हिचकक"को थ्रीलर मुभी "बर्ड्स्"को याद आउँछ । आखिर यो कालो कागलाई म बाट के चाहिएको छ ? किन मलाई लखेटिरहेको छ ? किन मलाई ठुङ्न खोज्दै छ ?
म आफुलाई बचाउदै हतार-हतार अफिस पुग्छु । कालो काग बाटो'मै कतै ओझेल हुन्छ ।
पहिले-पहिले मलाई पनि चरा हुन मन लाग्थ्यो । चरा जस्तै आकाशमा उड्न मन लाग्थ्यो । जब लाग्यो, आकाश पनि एउटा पिजँडा हो, त्यस्तो रहर जन्माउन छाडेको छु ।
आखिर रहर त रहरै होनि । चरालाई पनि त मान्छे भएर बाँच्ने रहर लाग्दो हो । मोबाईल निकाल्छु । नोट प्याडमा लेख्छु-
"कहिलेकाहीँ रहरलाई पनि त रहर लाग्दो हो,
आफ्नै रुप ऎनालाई पनि हेर्ने रहर लाग्दो हो !"
अफिसमा एउटा साथिले निम्तो दिन्छ, "बेलुकी सानो पार्टी छ घरमा आउँनुस् है !"
"के को उपलक्ष्यमा ?" म सोध्छु ।
उ मुस्कुराउदै भन्छ, " नयाँ गाडी किनेको छु !"
म झुठ बोल्छु, "हुन्छ, म पक्का आउनेछु !"
मोबाईल निकाल्छु । नोट प्याडमा लेख्छु-
"साथीहरू गाडीको धाक देखाउँछन्,
धन्न बेलैमा जुत्ता किनेको रहेछु मैले !"
अफिसबाट निस्किन्छु । यताउती हेर्छु । कतै त्यो कालो काग मलाई कुरेर बसेको त छैन ?
त्यो कालो कागसंग केही रहस्य त पक्कै लुकेको हुनुपर्छ । नत्र, किन पछ्याउँनु, किन लखेट्नु, किन ठुङ्नु ?
यस्तै-यस्तै प्रश्नहरुलाई जोख्दै पुग्छु घर ।
काँ..... काँ.... काँ..... काँ.......काँ......काँ......
म तर्सिन्छु । फेरि कागको कराई ?
एउटा काग मात्रै होइन कागको पुरै हुल करारहेको / चिच्याईरहेको सुन्छु ।
म आफ्नो नजर वरिपरी घुमाउछु । कागको झुन्ड मलाई हमला गर्न कतैबाट आईरहेको पो छ कि ! कहिँ केही देख्दिन । काग होइन कतै मेरै कान त बजिरहेको छैन ?
कागको कराई / चिच्याईलाई पछ्याउन थाल्छु । घर पछाडी पुग्छु । देख्छु, कागको झुन्ड एकोहोरो कराईरहेको । म अचम्म मान्छु । के भैरहेको छ यहाँ ? किन यसरी कराउँदैछन् कागहरु ?
अलि नजिक गएर हेर्छु । देख्छु, एउटा मृत काग काँडेतारमा अल्झिएको ! अरु कागहरु छेउछेउमा बसेर शोक मनाईरहेका /रुईरहेका / कराईरहेका / चिच्याईरहेका ! देख्छु, एउटा काग मात्रै चुप बसिरहेको । पक्कै मलाई पछ्याउँने, लखेट्ने, ठुङ्ने त्यहीँ काग हुनुपर्छ ।
म फर्कन्छु त्यो दृश्यलाई ओझेल बनाएर । मन भारी हुन्छ । गलामा केही अड्केको'झैं हुन्छ । म पग्लिन थाल्छु ।
त्यो कालो कागले मेरो घरमा कुनै पाहुनालाई बोलाएन । कुनै अशुभ संदेश पनि दिएन । कुनै भयानक प्रलयको जानकारी पनि गराएन । केहीको संकेत पनि दिएन । केही अमङ्गल पनि भएन । बस्, त्यो कालो काग मलाई गुहार माग्दै थियो उ जस्तै अर्कोको जिवन बचाउन !
मोबाईल निकाल्छु । नोट प्याडमा लेख्छु-
"को कराएको थियो कागको गुँड छेउमा बसेर,
जसले लिएर आयो मृत्युलाई पाहुना बनाएर ?"


Comments
Post a Comment